नेपाल सधैँ अरूको भरमा कति दिन चल्ने ?
(आशिष कुमार मण्डल):
नेपालको राजनीतिमा हर्क साम्पाङले अघि सारेको श्रम, उत्पादन र आत्मनिर्भरताको अवधारणालाई केवल आजको राजनीतिक बहसका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यसलाई नेपालको भविष्य, सम्भावित विश्व संकट र आगामी पुस्ताको जीवनसँग जोडेर हेर्न आवश्यक छ।
मेरो विचारमा श्रम संस्कृति पार्टीले उठाउँदै आएको श्रम र आत्मनिर्भरताको बहसको एउटा महत्त्वपूर्ण पक्ष छ। त्यो हो– नेपालले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न अरू देशमाथिको निर्भरता क्रमशः कम गर्दै लैजानुपर्छ।
आज हामी पेट्रोलियम पदार्थ देखि खाद्यान्न, औद्योगिक कच्चा पदार्थ, प्रविधि र दैनिक उपभोग्य वस्तु सम्मका लागि विदेशी बजारमा निर्भर छौँ। देशमा सडक छन्, गाडी छन्, सञ्चार प्रविधि छ, इन्टरनेट छ, तर यी मध्ये धेरै सेवा र साधनको सञ्चालन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीसँग जोडिएको छ।
अब एउटा प्रश्न गरौँ– भोलि विश्वमा ठूलो युद्ध भयो भने के हुन्छ ? अन्तर्राष्ट्रिय व्यापार अवरुद्ध भयो, पेट्रोलियम पदार्थको आपूर्ति रोकियो, विद्युत् तथा सञ्चार पूर्वाधारमा समस्या आयो र इन्टरनेट सेवा प्रभावित भयो भने हाम्रो दैनिक जीवन कसरी चल्छ ?
हामीले कल्पना गर्न सक्छौँ, पेट्रोल र डिजेल नआए गाडीहरू थन्किन सक्छन्। अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला अवरुद्ध भए औषधि, मेसिनरी, मलखाद र अन्य आवश्यक वस्तुको अभाव हुन सक्छ। इन्टरनेट र डिजिटल प्रणालीमा गम्भीर अवरोध आए बैंकिङ, सञ्चार, व्यापार र प्रशासनिक काम समेत प्रभावित हुन सक्छन्।
यस्तो अवस्थामा नेपालले आफ्नो आवश्यकता आफैँ पूरा गर्न सक्ने क्षमता कति राखेको छ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।
गोरुगाडा देखि आधुनिक प्रविधि सम्मको विकल्प सोच्नु पर्ने समय
हामीले विकासको अर्थ केवल ठूला सडक, आधुनिक गाडी र प्रविधिको विस्तारलाई मात्र मान्नु हुँदैन। विकास भनेको संकटको समयमा पनि समाजलाई चलायमान राख्न सक्ने क्षमता निर्माण गर्नु पनि हो।
आज हामी पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा निर्भर छौँ। तर कुनै कारणले इन्धनको आपूर्ति लामो समय सम्म रोकियो भने के हामीसँग वैकल्पिक यातायातको व्यवस्था छ ? विगतमा गोरुगाडा, घोडा, खच्चड र मानिसको श्रमबाट सामान ओसार पसार गरिन्थ्यो। ती साधनलाई आधुनिक विकासको विकल्पका रूपमा जस्ताको तस्तै अपनाउनुपर्ने होइन, तर आवश्यकताअनुसार स्थानीय स्रोत र परम्परागत सीपको संरक्षण गर्नु पर्ने हो।
त्यसैगरी, कृषि क्षेत्रमा आधुनिक मेसिनको प्रयोग बढाउनु राम्रो हो, तर हातैले खेती गर्न सक्ने सीप, पशुपालन, बीउ संरक्षण र स्थानीय खाद्य उत्पादनको ज्ञान हराउँदै जानु हुँदैन।
यदि कुनै दिन मेसिन र इन्धनको अभाव भयो भने पनि किसानले खेती गर्न सकून्, गाउँलेले आफ्नै उत्पादनबाट खान पाऊन् र स्थानीय समुदायले एकअर्कालाई सहयोग गरेर जीवन चलाउन सकून्।
कोरोना महामारीले दिएको पाठ
कोरोना महामारीलाई सम्झौँ। विश्वका शक्तिशाली देशहरू समेत स्वास्थ्य सामग्री, औषधि, खाद्यान्न र अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा चुनौती सामना गर्न बाध्य भए। यातायात बन्द भयो, उद्योगधन्दा प्रभावित भए, रोजगारी गुम्यो र विदेशमा रहेका धेरै नेपालीले समेत कठिन परिस्थिति भोग्नुपर्यो।
त्यस समयमा स्थानीय उत्पादन, कृषि, पशुपालन, पारिवारिक सहयोग र समुदायको सहकार्य कति महत्त्वपूर्ण रहेछन् भन्ने कुरा स्पष्ट भयो।
मानिसलाई बाँच्नका लागि सबैभन्दा पहिले चाहिने कुरा खाना, पानी, स्वास्थ्य सेवा र सुरक्षित बासस्थान हुन्। आधुनिक सुविधा जीवनलाई सहज बनाउन आवश्यक छन्, तर आधारभूत आवश्यकता पूरा गर्ने क्षमता आफ्नै समाजमा हुनु झन् महत्त्वपूर्ण छ।
श्रमलाई सम्मान गर्ने समाज निर्माण
नेपालका धेरै युवा रोजगारीको खोजीमा विदेश जान बाध्य छन्। विदेशबाट आउने रेमिट्यान्सले अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ। तर देशभित्रै उत्पादन र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न नसक्नु हाम्रो दीर्घकालीन चुनौती हो।
यदि नेपालमै कृषि, पशुपालन, उद्योग, निर्माण, ऊर्जा र स्थानीय उद्यमलाई व्यवस्थित रूपमा विकास गर्न सकियो भने विदेश जानुपर्ने बाध्यता कम गर्न सकिन्छ।
श्रम गर्नु सानो काम होइन। आफ्नै खेतमा काम गर्नु, सडक निर्माण गर्नु, पुल बनाउनु, उद्योग सञ्चालन गर्नु, पशुपालन गर्नु वा स्थानीय उत्पादन बजारसम्म पुर्याउनु सबै राष्ट्र निर्माणका काम हुन्।
नेपालले आजै देखि एउटा यस्तो समाज निर्माण गर्न आवश्यक छ, जहाँ श्रमलाई सम्मान गरियोस्, उत्पादनलाई प्राथमिकता दिइयोस् र आत्मनिर्भरतालाई राष्ट्रिय विकासको महत्त्वपूर्ण आधार बनाइयोस्।
यो बहस हर्क साम्पाङ वा कुनै एउटा राजनीतिक दलमा मात्र सीमित हुनु हुँदैन। यो देशको दीर्घकालीन भविष्यसँग जोडिएको विषय हो।
