२२ वैशाख,जनकपुर । मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीभित्र आन्तरिक कलह चर्किएसँगै पार्टी दुई धारमा विभाजित भएको छ। सोमबार पार्टीका सचेतक चन्दन सिंहले १० जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहित प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाए पछि विवाद सतहमा आएको हो।
यद्यपि, प्रदेश प्रमुखको कार्यालयले उक्त पत्रका बारेमा अहिलेसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।यसैबीच, जनमत पार्टीका संसदीय दलका नेता एवं अर्थमन्त्री महेश प्रसाद यादवले भने वर्तमान सरकारलाई पार्टीको समर्थन यथावत् रहेको दाबी गरेका छन्।
उनले मंगलबार प्रदेश प्रमुखलाई पत्र लेख्दै आफू दलको नेता भएको र आफ्नो जानकारी वा आह्वानविना बसेको कुनै पनि बैठकको निर्णय आधिकारिक नहुने स्पष्ट पारेका छन्। यादवले मुख्यमन्त्री कृष्णा प्रसाद यादव नेतृत्वको सरकारलाई जनमत पार्टीको आधिकारिक समर्थन कायमै रहेको जानकारी गराएका हुन्।
कुल १३ प्रदेश सभा सदस्य रहेको जनमत पार्टीमा हाल राजनीतिक समीकरण पेचिलो बनेको छ। सदस्यहरू मध्ये बबिता इसर राउत उपसभामुख छिन् भने पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले यसअघि नै पदबाट राजीनामा दिएर नयाँ पार्टी गठन गरिसकेका छन्। अर्थ र खेलकुद मन्त्रालय सम्हालिरहेको जनमतभित्रको यो शक्ति संघर्षले मधेस प्रदेश सरकारको भविष्यमाथि समेत प्रश्नचिह्न खडा गरिदिएको छ।

