२१ वैशाख,काठमाडौं ।नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपालमा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र मिडियामाथिको दमनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित ऐक्यवद्धता र्यालीलाई सम्बोधन गर्दै उनले लेखेकै र बोलेकै आधारमा सञ्चारमाध्यम माथि राज्य र गैरराज्य पक्षबाट दबाब दिने क्रम बढेको आरोप लगाइन्।
महासंघको तथ्याङ्क प्रस्तुत गर्दै उनले गत वर्ष ७३ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएकामा यस वर्ष सो संख्या बढेर १३१ पुग्नुले अवस्था चुनौतीपूर्ण रहेको स्पष्ट पारिन्। अध्यक्ष शर्माले वर्तमान सरकारले पत्रकारहरूको रोजीरोटी खोस्नुका साथै मिडियामाथि आर्थिक नाकाबन्दी लगाएर लोकतन्त्रको खम्बा मानिने सञ्चार क्षेत्रको मुख थुन्ने प्रयास गरेको टिप्पणी गरिन्।

त्यसैगरी, नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजय प्रसाद मिश्रले प्रेस स्वतन्त्रतालाई संविधान र कानुनमा लेखेर मात्र सुरक्षित नहुने भन्दै यसलाई व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिए। उनले पूर्वजहरूको ठूलो बलिदानबाट प्राप्त यो अधिकारलाई थप मजबुत बनाउँदै आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने दायित्व औंल्याए।
सरकारले संसद्प्रति आत्मविश्वास देखाउनुको सट्टा अध्यादेशको सहारा लिएको भन्दै उनले विज्ञापन कटौती वा अन्य आर्थिक दबाब दिएर प्रेसलाई नियन्त्रण गर्ने जुनसुकै प्रयास विरुद्ध बार एसोसिएसन सजग रहेको र पत्रकार महासंघका मागमा आफ्नो पूर्ण ऐक्यवद्धता रहेको प्रतिबद्धता समेत जनाए।

