२६ चैत,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवनियुक्त अधिकृतहरूलाई व्यावसायिक मर्यादा, अनुशासन र उच्च कर्तव्यनिष्ठाका साथ राष्ट्रसेवामा समर्पित हुन निर्देशन दिएका छन्। भक्तपुरको खरिपाटी स्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित ‘अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज’ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन्।
तीन वर्षको कठिन र चुनौतीपूर्ण सैन्य प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरी अधिकृत पद प्राप्त गरेका १८३ जना क्याडेटहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले अबको यात्रा देश र जनताप्रतिको जिम्मेवारीमा केन्द्रित हुनु पर्ने बताए। उनले सैनिक संगठनको मेरुदण्ड मानिने ‘चेन अफ कमान्ड’ र कठोर अनुशासनको दायराभित्र रहेर काम गर्न नवआयुक्त अधिकृतहरूलाई सचेत गराए।

फरक सामाजिक र सांस्कृतिक पृष्ठभूमिबाट आएका जवानहरूलाई एकीकृत गर्दै एउटा सक्षम र अनुशासित टोलीको नेतृत्व गर्ने क्षमता नयाँ अधिकृतहरूले देखाउनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे।
समारोहका क्रममा प्रधानमन्त्री शाहले तालिम अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक स्वरूप खुकुरी र छडी प्रदान गरी सम्मान समेत गरेका थिए। भव्य कवाज प्रदर्शनका बीच सम्पन्न उक्त समारोहमा सैनिक उच्च पदस्थ अधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।
