जनकपुरधाम । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले प्रदेश कमिटी सचिवालय सदस्य शिवशंकर साह ‘हिरा’लाई जनकपुरधाम उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी दिएसँगै जनकपुरधामको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।
साह ‘हिरा’ जनकपुरधाममा लामो समयदेखि सामाजिक, व्यावसायिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनी जनकपुर उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष समेत हुन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिएका साह ‘हिरा’ केही हजार मतले मनोज कुमार साहसँग पराजित भएका थिए। उक्त निर्वाचनमा मनोज कुमार साहले १३ हजार ४६५ मत प्राप्त गर्दा शिवशंकर साह ‘हिरा’ले ९ हजार ५३२ मत पाएका थिए।
निर्वाचनमा पराजयपछि पनि पार्टी संगठन तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका साहलाई एमालेले अहिले जनकपुरधामको इन्चार्जको जिम्मेवारी दिएको हो। नयाँ जिम्मेवारीसँगै जनकपुरधाममा एमालेको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक रणनीतिमा साहको भूमिका महत्वपूर्ण हुने देखिएको छ।
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा यसअघि प्रतिस्पर्धा गरिसकेका साहलाई पुनः उपमहानगरको पार्टी संगठनको नेतृत्वदायी जिम्मेवारी दिइनुलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
विशेषगरी आगामी निर्वाचनलाई ध्यानमा राख्दै एमालेले जनकपुरधाममा संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउन साहलाई अघि सारेको हुनसक्ने राजनीतिक विश्लेषण गरिएको छ। यद्यपि, उनको नयाँ जिम्मेवारीले जनकपुरधामको आगामी राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।
