२१ असार कञ्चनपुर/कैलाली: नेपालका सिमान्तकृत तथा विपन्न क्षेत्रका युवतीहरूलाई प्रलोभनमा पारेर भारतमा गैरकानूनी रूपमा एग (डिम्ब) डोनेशनका लागि मानव तस्करी भइरहेको एउटा स्तब्धकारी तथ्य सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करको प्रकाशित स्थलगत खोजी प्रतिवेदन अनुसार, विशेषगरी नेपालको सुदूरपश्चिममा पर्ने कैलाली र कञ्चनपुर जिल्लाका थारू समुदायका युवतीहरूलाई अन्तर्राष्ट्रिय मानव तस्कर समूहले आफ्नो निशाना बनाइरहेका छन्।
गरिबी र जनचेतनाको अभावको फाइदा उठाउँदै तस्करहरूले उनीहरूलाई प्रति डोनेशन ३० हजार देखि ६० हजार भारतीय रुपैयाँ सम्मको प्रलोभन देखाई उत्तर प्रदेशको बाटो हुँदै दिल्ली पुर्याउने नयाँ शैली (मोडस अपरेन्डी) अपनाइरहेका छन्।तस्करहरूले नि:सन्तान दम्पतीहरूबाट प्रति केस ४ देखि ५ लाख भारतीय रुपैयाँसम्म असुल गरी नेपाली युवतीहरूलाई एग डोनेशन गराउने अवैध धन्दा चलाइरहेका छन्।
दिल्लीमा रहेका तस्कर गिरोहका केही नेपाली महिलाहरूले नै सामाजिक सञ्जालमार्फत गाउँका सीधासाधा युवतीहरूलाई प्रलोभनमा पार्ने गरेको रिपोर्टले खुलाएको छ। कञ्चनपुरकी एक पीडित युवती (परिवर्तित नाम रमा) लाई सामाजिक सञ्जालमार्फत विलासी जीवनशैलीको सपना देखाई एग डोनेशनलाई रक्तदान जस्तै सामान्य प्रक्रिया हो भनी भ्रममा पारिएको थियो।
गौरीफन्टा नाका हुँदै दिल्ली लैजाने तयारी भइरहँदा स्थानीय संघसंस्थाको सहयोगमा उनको उद्धार गरिएको थियो। आर्थिक रूपमा विपन्न उक्त परिवारका बुबा दैनिक ज्यालादारी मजदुर हुन्।खुला सिमानाका कारण नेपाल-भारत सीमामा मानव तस्करीको सटीक तथ्याङ्क उपलब्ध नभए पनि शंकाको घेरामा परेर सीमानाकामा रोकिनेहरूमध्ये ९४ प्रतिशत बालिका र महिलाहरू नै हुने गरेका छन्।
नेपाल राष्ट्रिय मानव अधिकार आयोगको सन् २०२६ को प्रतिवेदनलाई उद्धृत गर्दै जनाइएअनुसार, हरेक वर्ष औसत ७,४०० जनालाई मानव तस्करीको आशंकामा सीमामा रोकिने गरिएको छ। यसरी सीमामा रोकिनेहरूमा ५२ प्रतिशत महिला र ४२ प्रतिशत नाबालिग बालिकाहरू रहेका छन्। तस्करहरूले गौरीफन्टा नाका तथा दुधवा नेशनल पार्कको सीमावर्ती जंगलको बाटोलाई तस्करीको मुख्य मार्ग (हट रुट) बनाउने गरेका छन्, जहाँ मोबाइल नेटवर्क नहुने हुनाले सुरक्षा एजेन्सीहरूलाई छल्न तस्करहरूलाई सजिलो हुने गर्दछ।
यस विषयमा बोल्दै नेपाल राष्ट्रिय मानव अधिकार आयोग कैलालीका सह-सचिव प्रकाश दत्त भट्टले अवैध एग डोनेशनको उद्देश्यले नेपाली महिलाहरूको तस्करी हुनु नयाँ र चिन्ताजनक ट्रेन्डका रूपमा उदाएको बताउनुभएको छ। सुदूर र गरिब क्षेत्रहरूमा चेतनाको भारी अभाव रहनु नै तस्करहरूका लागि फाइदाको विषय बनेको र यसैका कारण महिला तथा बालबालिकाहरू सहजै तस्करहरूको शिकार भइरहेको उहाँको भनाइ छ। यो नयाँ प्रवृत्तिलाई नेपालको मानव अधिकार आयोगले बेहद गम्भीर रूपमा लिएको छ।
