राजस्व बढेर के गर्ने? उपभोक्तालाई म्याद सकिएको घिउ र मैदा खुवाउने चर्चित डेरीमाथि प्रशासनको फितलो कारबाहीले नागरिक आक्रोशित
२० असार,जनकपुर,(आशिष कुमार मण्डल) : जनकपुरको चर्चित हंसराज डेरीमा फेरि छापा मारिएको छ। फेरि पनि कथा पुरानै दोहोरियो ! म्याद सकिएको घिउ र मैदा फेला पर्यो, अनि प्रशासनले ५० हजार जरिवाना टोकेर आफ्नो कर्तव्य पूरा गर्यो। तर यहाँ मुख्य प्रश्न उठ्छ: के नेपाली जनताको स्वास्थ्यको मूल्य मात्र ५० हजार रुपैयाँ हो ? यसअघि पनि यो डेरीमा यस्तै प्रकारको अखाद्य वस्तु भेटिएपछि जरिवाना गरिएको थियो।
बारम्बार एउटै अपराध दोहोर्याउने यस्ता गैरजिम्मेवार व्यवसायीलाई सरकारले केवल राजस्व असुलीको माध्यम मात्र बनाएको देखिन्छ। जरिवाना बुझेर सरकारको ढुकुटी त भरिएला, तर उपभोक्ताको कलेजो र मिर्गौला बिगार्ने यो खेलबाड कहिले सम्म चलिरहने ?जनताको स्वास्थ्यमा सिधा विष मिसाउने यस्ता व्यापारीलाई केवल पैसा तिराएर उन्मुक्ति दिनुको सट्टा कम्तीमा एक रात भए पनि थुनामा राखेर कडा कानुनी डण्डा चलाउनु पर्ने थियो।
जरिवाना तिरेकै भोलिपल्ट देखि उक्त व्यावसायिक प्रतिष्ठानले फेरि म्याद सकिएका र कुहिएका खाद्य पदार्थ बेच्दैन भन्ने जिम्मेवारी अब कसले लिने ? प्रशासनको यो फितलो र ‘जरिवानामुखी’ नीतिले गर्दा नै यस्ता अपराधीहरूको मनोबल झन् बढेको छ। त्यसैले अब औपचारिकताका लागि मात्र गरिने जरिवाना बन्द गरियोस् र सिधै व्यवसाय खारेजी तथा जेल सजाय सहितको कडा कदम चालियोस् !
