२४ वैशाख,मधेश प्रदेश : पर्साका अभिभावकहरूले शैक्षिक क्षेत्रमा आइतबार दिइँदै आएको सार्वजनिक बिदा कटौतीको माग गर्दै दबाब बढाएका छन्। अभिभावक संघ पर्साले जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन शाखा मार्फत ज्ञापनपत्र बुझाउँदै लगातार दुई दिन बिदा हुँदा विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर पुगेको तर्फ ध्यानाकर्षण गराएको हो।

संघले अतिरिक्त बिदाका कारण निर्धारित पाठ्यक्रम समयमै पूरा गर्न कठिनाइ भएको र विद्यार्थीहरूमा शैक्षिक अनुशासन समेत कमजोर बन्दै गएको दाबी गरेको छ।अभिभावकहरूको मुख्य चिन्ता विद्यार्थीहरू फुर्सदको समयमा अध्ययनभन्दा पनि मोबाइल, टेलिभिजन र सामाजिक सञ्जालमा बढी केन्द्रित हुन थालेकोमा रहेको छ, जसले उनीहरूको पढाइ प्रतिको रुचि घटाउँदै लगेको छ।
शिक्षा नियमावली अनुसार विद्यालय न्यूनतम २२० दिन सञ्चालन हुनुपर्ने प्रावधानलाई उद्धृत गर्दै संघले अतिरिक्त बिदाले शैक्षिक गुणस्तरमा प्रत्यक्ष प्रहार गरेको उल्लेख गरेको छ। संघका अध्यक्ष सन्दिप रनियारको नेतृत्वमा पुगेको टोलीले शैक्षिक वातावरणलाई प्रभावकारी बनाउन र विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न आइतबारको बिदा तत्काल पुनर्विचार गरी कटौती गर्न सरकारसँग माग गरेको छ।
