२१ वैशाख,काठमाडौं ।बागमती र यसका सहायक नदी किनारका अतिक्रमित एवं जोखिमपूर्ण सरकारी जग्गा खाली गराउने सरकारी अभियानले पछिल्लो समय तीव्रता पाएको छ। यस प्रक्रिया अन्तर्गत हालसम्म आफूलाई सुकुम्बासी दाबी गर्ने कुल १,८१६ परिवारका ७,७८९ जना व्यक्तिहरू सरकारको सम्पर्कमा आएका छन्।
सम्पर्कमा आएका मध्ये ७९४ जनालाई सुरक्षित र अस्थायी व्यवस्थापनका लागि विभिन्न होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ।दशरथ रंगशालामा स्थापना गरिएको स्क्रिनिङ सेन्टरमा उपस्थित भएका अन्य व्यक्तिहरूले भने प्रारम्भिक प्रक्रिया र विवरण दर्ता गराएपछि हालका लागि आफ्नै पहलमा आवासको प्रबन्ध गर्ने भन्दै त्यहाँबाट बाहिरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारले प्रभावितहरूको बसोबासका लागि कीर्तिपुर स्थित राधास्वामी सत्संग भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरूका साथै भक्तपुरका विभिन्न तालिम केन्द्रहरूलाई आश्रयस्थलका रूपमा उपयोग गरिरहेको छ।
नदी किनारका संरचनाहरू हटाउने कार्यसँगै सरकारले वास्तविक सुकुम्बासीहरूको पहिचान, उनीहरूको अस्थायी व्यवस्थापन र दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यक समन्वय र योजना अघि बढाइरहेको उल्लेख गरेको छ।
